सायद सामाजिक हुने, समाजमा परिचित हुने हुटहुटिले होला, सम्भव असम्भव थरि थरिका योजनाले मेरो दिमाग हानिरहन्थ्यो र अाज पर्यन्त हानिरहन्छ।
खेलमा चलिरहने त्यही असहजतालाई चिर्न एउटा योजनाले जन्म लियो । अनि जन्म भयो जुनियर ब्वाइज स्पोर्ट्स क्लब (JBSC)। १८/२० जनाको केटाहरूको समुहलाई एकत्रित गरियो र थालियो खेलकुदको अर्को यात्रा। तर... सायद अझ अघि बढ्नु रहेछ त्यसैले त जन्मेको केही दिनमै अदृश्य र अनौपचारिक विभाजन भयो, बाँकी रह्यौँ १२/१३ जना केटाहरू।
मेरो दिमागमा खेलिरह्यो एउटै कुरा कसरी बलियो बनाउने एकता? सानो मान्छे, आफ्नो कुरा राख्न नि डराउने। तर विद्यालयमा स्थापित जु.रे.स., पुस्तकालय व्यवस्थापन समिति लगायत विभिन्न समुहमा रहि काम गरेको अनुभव अनि डराइ डराइ व्यक्त गरेका कुराहरूलाई गुरुहरूले सुनिदिंदा हिम्मत बढ्दै गयो, सोधपुछ गर्दै गएँ अनि जन्म भयो क्लब खोल्ने योजना। युवा क्लबहरू छन् सामाजिक कार्य र खेलकुद दुवैमा सक्रिय, त्यसो हो भने हामी किन नसक्ने?? यो प्रस्ताव पुग्यो सहदेव, अनि शिवको मा। सुरुमा त हाँसोको माध्यम मात्र भयो योजना, सायद म आफैले विस्तृत नबुझेको कुरा बुझाउन सकिन कि? विस्तारै बुझ्दै र बुझाउदै गर्दा साथीहरू नमान्ने त कुरै भएन। म भन्दा दुई कदम सामाजिक जो छन्।
प्रस्ताव त स्वीकृत भयो तर अघि बढ्ने कसरि ?? सामाजिक तथा बालबालिकाको क्षेत्रमा सक्रिय हिमालयन सामुदायिक विकास मञ्च (HICODEF) अनि त्यस संस्थाका कार्यकारी सुरवीर स्थापित सर। त्यहीँबाट सहयोग लिने निर्णय भयो। सहयोग लिने त कुरा भयो तर सबभन्दा ठूलो समस्या अर्को थियो। को जाने कुरा गर्न? के कुरा गर्ने? कसले र कसरी गर्ने? सायद यही निर्णय लिन पनि हप्ता दिन जति लाग्यो कि? अन्तत निर्णय गरियो कि चारै जना जाने, सहदेव वा शिवले कुरा सुरु गर्ने अनि मैले पुरा गर्ने।
गइयो हिकोडेफ ..., ३/४ मिनेटमा घरबाट हिकोडेफ पुगेका हामी गेट बाट पहिलो तलामा रहेको सरको कोठामा पुग्न १० मिनेट बढी समय लाग्यो। बल्लबल्ल कुरा सुरु भयो.. कुरा सहज हुदै थियो त्यत्तिकैमा सरबाट एउटा प्रस्न आयो। तिमिहरु कतिजना छौ, सदस्य संख्या कति छ? केटाकेटी कति-कति छौ? हामी त थियौं जम्मा १४/१५ जना केटाहरु, त्यही पनि सबैसँग छलफल नै भएको छैन। मुखामुख गर्दै गर्दा मेरो मुखबाट निस्कियो २२/२५ जना त्यसमा १३/१४ जना केटाहरु अनि ८/१० जना केटीहरु । कुरा गरेर सकियो ...
केहिदिन पछि सबैलाई भेला गरेर क्लब गठन गर्ने योजना सहित बैठक सकियो। काम गर्दै गर्दा समस्याका पहाड थपिदै जान्छ, केटाहरूको क्रिकेट खेल्ने समुह औपचारिक सामाजिक संस्था बन्दै थियो। यो पहाड चढ्न पाउँदा खुसी लागेको थियो तर केटाहरूको ग्याँगमा चुँगि र छोइडुम खेल्न बाहेक बाहिर ननिस्कने केटीहरु, त्यसमाथि ८/१० जना कसरी निकाल्ने? अर्को पहाड अगाडि आयो। तर सोचेजस्तो गाह्रो भएन, सधैं मुखले लखर लखर हिडे भन्दै गालि गरे पनि अभिभावकहरुमा हामी प्रति भरोसा थियो सायद। त्यसैले त उहाँहरुको मौन समर्थनमा सदस्य संख्या १७ पुर्याउन सफल भइयो। अनि जन्म भयो साविकको शिवमन्दिर ३, नवलपरासीमा मा सृजनशिल बाल क्लब।।।
इति जन्मोत्सव २०६२/०२/२१ रोज ७ शुभम्।।।
Post a Comment