सम्झनामा सृजनशिल...2

#प्रथम_भेला 

२०६२/०२/२१ गते शनिबार हिकोडेफको सभा हल, बिहान करिव एघार बजे सुरवीर सरको सहजिकरणमा सुरु भएको भेला तिन घण्टा लामो छलफल पश्चात मेरो अध्यक्षतामा नौ सदस्यीय समिति र समुहको न्वारान गरेर सकियो। जसअन्तरगत 

अध्यक्ष : सुनिल लम्साल 

उपाध्यक्ष: यशोदा भट्टराई 

सचिव: शिव पाण्डे 

कोषाध्यक्ष: सहदेव पौडेल 

कार्यसमिति सदस्यहरू: - - - - - 

अन्य सदस्यहरू: - - - - - - - - 

तर पनि यसरी 17 सदस्य रहेको समुह गठन गरेको दिनमा नै मन अमिलो बनाउनु पर्ने भएको थियो। विषेश गरी हामी तिन जना लाई, किनकि अरुलाई ति हामीबाट छुट्टिएर जाने ९/१० जना साथीहरुको विषयमा खासै जानकारी थिएन, अनि जानकारी भएकाहरूलाई त्यसको असर अनुमान थिएन। मनमा दमाहा त अझ त्यति बेला बज्यो जब हाम्रो योजनालाई माथ दिनको लागि मात्र भए पनि तिन घण्टा जेठो संस्थाको जबर्जस्ती जन्म भएको थियो , त्यही सभाहलमा।। हिकोडेफका कर्मचारी सँग व्यक्तिगत चिनारी भएकै आधारमा उनीहरूले हामीलाई उछिन्ने साहस गरेको बालसुलभ निष्कर्ष निकालियो। मन खुस नभएको अर्को बालसुलभ कारण थियो निर्णय पुस्तिका...। एकै दिन जन्मिएका दुई भाइलाई काखा र पाखा गरिएको जो थियो। 

अन्ततः यही दुई कुराले नै हाम्रो अगाडिको यात्रा को गोरेटो निर्धारण गर्न मद्दत गर्यो भन्ने लाग्छ। मेरो कार्यकालमा जति प्रगति भए यही दुई कुराकै छायामा भएका हुन् भन्ने मेरो आज पर्यन्तको ठम्याई हो। शक्तिमान, जुनियर जि र क्रिकेट- फुटबलमा रमाउने हामी केटा साथीहरू अनि सजिलै घर बाहिर निस्कन पनि गाह्रो मान्ने केटिहरूमा केही गरेर देखाउने, उनीहरू समयले जेठा होलान् तर कर्मले हामी अगाडि हुनुपर्छ भनेर इख जगाउन सफल भएँ । त्यसको लागि ति मित्रहरूलाई पुनः धन्यवाद दिन चाहन्छु। साथीहरूलाई कुराहरू विस्तारै प्रस्ट हुँदैगयो तर सुरुबाटै काम गर्ने वातावरण र जोस त्यही इखले प्रदान गर्यो। 

यो त भयो त्यो दिनको वस्तुस्थिति र साथीहरूको जोसको राज, अब मेरो मनोभावना... बाह्र बर्से बालख सत्र जनाको टोलीलाई दौडाउने इच्छा थिएन । सहदेव वा शिवलाई अघि लगाएर आफू सारथि हुन चाहन्थेँ। तर हतियार मेरै काँधमा बोक्नु पर्ने भयो। बाल क्लब को अध्यक्ष.. अनौठो महसुस भएको थियो। म चाहन्थेँ कि केही काम गरे पछि नै समाजमा परिचय दिऊँ तर कहाँ त्यस्तो हुन पाउँथ्यो र? सुरुका केही दिन कसैले अध्यक्ष भनि बोलाउँदा खिसी गरेको जस्तो आभास हुन्थ्यो। सबै भन्दा बढी असहज त हामी भन्दा जेठा समुहका साथीहररूको बोलाउने शैलीले गराउदथ्यो। त्यसैले सुरुका केही दिन त ति साथीहरूको बाहुल्य रहेको बाटोबाटै विरलै हिडेँहुम्ला। विस्तारै बानि पर्दै गयो, हाम्रा कामहरुले समुह टोल छिमेकमा स्थापित हुँदै गयौं। अनि अनगिन्ती सहयोगी हातहरु र दुई विषेश सारथिको काँध पाएर सगर्व भन्न थालेँ म नै हो सृजनशिल बाल क्लबको अध्यक्ष सुनिल लम्साल...।। 

😍😍😍

Quote of the day

 

आकाशमा चम्किने तारा बनिदिनेछु एक दिन...

अनी तिमी हेरी मात्र रहनु

🌟🌟🌟

One day, I'll be a bright star in the sky...
And you simply keep looking.

नेपाली समाजको परिदृश : २

२००७ ( १९५१ ) सालमा नेपाललाई प्रजातन्त्र घोषणा गर्न माग गर्दै महिलाहरूको  मोर्चा। फोटो: सहाना प्रधान संग्रह / नेपाल तस्वीर पुस्तकालय

ऐतिहासिक एवं राजनीतिक आवस्था

विशाल राष्ट्रियताहरूको साझा थलोको रुपमा रहेको नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । भौगोलिक एवं आर्थिक रुपमा ठूला दुई राष्ट्रहरूको बिचमा रहेको हाम्रो देशले यस भूपरिवेष्ठितको बिषमतालाई अवसरको रुपमा लिएर छिमेकीहरूसँग समदुरी कायम राख्दै आफ्नो विकास निर्माण गर्नु अनिवार्य बनाएको छ । तर यस्तो भनिरहँदा वैदेशिक हस्तक्षेप र पराधीनता स्वीकार्य हुनसक्दैन । यसकारण विगत देखि निरन्तर अनुसरण भइरहेको समानता र पारस्परिक लाभमा आधारित पञ्चशीलको सिद्धान्त अनुरूप नै सबन्ध विकास गरेर यो प्रतिकूलतालाई अनुकुलतामा परिणत गर्नुपर्छ ।

इतिहासलाई सन्तुलित रुपमा व्याख्या गर्नुपर्ने हुन्छ, चाहे त्यो नेपालको उत्पतिको इतिहास होस् वा प्रजातान्त्रिक आन्दोलनकै किन नहोस् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह देखि सुरुभएको नेपालको आधुनिक इतिहास जहाँनियाँ राणा शासन हुँदै प्रजातन्त्र, पञ्चायती शासन र पुन: प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेकोछ। इतिहासका पानाहरूमा सकारात्मक र नकारात्मक दुबै पक्षहरू हुन्छन्। तर जित्नेको इतिहास लेखिन्छ भन्दैमा आफ्नो स्वार्थपूर्ति गर्नका लागि हरेक समयमा इतिहासलाई आफू अनुकूल व्याख्या गर्ने गरिएको छ। उदाहरणका लागि प्रजातन्त्र पछि पञ्चायती समय काल सम्म शाहकालीन समयका राम्रा कुराहरूलाई उच्च मूल्याङ्कन गरी त्यस समय भएका अत्याचार अन्याय लगायतका कुरालाई लुकाउने, दमन गर्ने गरियो। फेरि पञ्चायत को अवसान पछि प्राप्त लोकतान्त्रिक पद्धतिमा आइसक्दा इतिहासकारहरूले ती समयका सकारात्मक कुराहरूलाई लुकाउदै नकारात्मक कुराहरू मात्र व्याख्या गरेको पाइन्छ।

टुक्राटुक्राको रुपमा रहेका राज्यहरूलाई एकीकृत गरी सिंगो नेपालको निर्माण गर्ने राजा पृथ्वी नारायण शाह लगायत शासकहरूको अथक प्रयासले गर्दा नेपाल स्वतन्त्र अविभाज्य राज्यको रुपमा रहेको छ। त्यसैले स्वतन्त्रता दिवस बिनाको देशको पहिचान बोकेको इतिहासलाई बिर्सिनु हुँदन। बिभिन्न समयमा भएका आन्तरिक खिचातानी र सत्ताको होडबाजी, भाइभारदार बिचको अविश्वासले गर्दा राजसंस्था पनि अलोकप्रिय हुँदै गइरहेको अवस्थामा नेपालका अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्रको गलत कदमले गर्दा नेपालबाट राजतन्त्र सदाको लागि बिदा भएको छ।

यसैगरी जहाँनियाँ राजशासन अन्त्य गर्न २००७ सालको क्रान्तिले प्रजातन्त्र स्थापना गरेको थियो तर त्यसलाई पनि फैलिन नदिई राजा महेन्द्रले पञ्चायती व्यवस्थाको स्थापना गरे। त्यस समयमा परराष्ट्र र कुटनीतिको रुपमा नेपाल केही बलियो देखिएको नेपाल विकासका गतिविधिहरुलाई बामे सार्दै थियो तर जनताको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई वेवास्था गर्दै केही समूहभित्र मात्र सिमित रहेको पञ्चायती व्यवस्था पनि लामो समय टिक्न सकेन र तीस वर्षको शासन २०४६ सालको जनआन्दोलनले धरासाइ भयो। पजातन्त्रको पुःर्नस्थापना भयो । त्यसपछि बनेका नेपाली कांग्रेस तथा नेपाल कम्न्युष्ट पार्टिका विभिन्न घटक समूहहरूको सरकारहरुले पनि आशातित उन्नति हासिल गर्न सकेन। ती सरकारहरू पनि सीमित स्वार्थ समूहको घेराबन्दीमा परेर पुँजीवादी व्यवस्थामा तल्लीन रहे। उदार अर्थतन्त्रको नाममा भएका सरकारी कलकारखानालाई निजीकरण गर्दै आर्थिक अवस्था थप धरासाही भएको अवसरमा भ्रष्टाचारका ठूलाठूला घटनाहरू यही समयमा बढी घटेकाछन्।

२०६२,६३ सालको दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्र लाई फालेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरियो। त्यसपछिका नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटक समूह, त्यसैगरी नेपाली कांग्रेसका सरकारहरु बने, ती सरकारहरू पनि स्वार्थ समूहले गर्दा र वैदेशिक हस्तक्षेप ले गर्दा नौ नोै महिनामा फेर्नुपर्ने वातारण बनिरह्यो। पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को करिब दुईतिहाईको अत्याधिक बहुमतको सरकार निर्माण भयो। यस सरकारसँग जनताको आशा र अपेक्षा ठूलो थियो। तर पनि यस सरकार विगतकै सरकारको निरन्तरता भन्दा खास अगाडि बढ्न सकेन। आन्तरिक पार्टीको किचलो, भ्रष्टाचारका नयाँ नयाँ परिघटनाहरु ले गर्दा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने भनाईलाई चरितार्थ गर्दै आइरहेको छ।फलस्वरूप नेकपा आफैँ विभाजित हुन पुग्यो भने प्रणाली माथिनै प्रश्नचिन्ह खडा भयको छ ।

विभिन्न कालखण्डमा भएका जनसंघर्षहरु र त्यसले ल्याएका राजनितिक परिवर्तनहरुको लागि विध्यमान राजनितिक चेतनाका बहाकहरु अवश्य नै धन्यवादको हकदार छन् । तर आफ्नो देशका जनतालाई शोषण गर्ने, जनताको पिर आवश्यकतालाई वेवास्था गरी आफ्नो मात्र स्वार्थमा लाग्ने, विदेशी शक्तिका  सामू नतमस्तक हुने अहिलेको राजनितिक संस्कारबाट परिवर्तन सम्भव देखिएको छैन । हरेक राजनितिक समुह भित्र मौलाउदै गएको अनैतिक राजनैतिक चरित्र, स्वार्थ समुहको हालिमुहालि अनि व्यक्तिगत स्वार्थ केन्द्रित नेतृत्वले गर्दा सामाजिक र आर्थिक विकासको लागि नेतृत्व गर्न असमर्थ हुदैगहिरहेको छ ।

१९ औ ंशताव्दीको बिभिन्न कालखण्ड देखि नै नेपालको स्वाधीनताको निम्ति वृटिश ईडिया, स्वतन्त्रता पछिको ईन्डिया तथा वृटेनसगँ भएका नेपालका असमान र अपमानपूर्ण अनेक संन्धी संझौताहरु बाधक भएका छन् । लामो समय देखि त्यस्ता संन्धी संझौताहरु खारेजी तथा परिवर्तको आवाज उठेता पनि सत्ताको स्वादपान गरेपछि सेलाउने गरेकोछ । यस्ता बिषयहरु फगत जनताको भावनालाई आन्दोलित गरी सत्तामा पुग्ने भर्यांग मात्र भएको छ। त्यसैगरी अनेक अन्तराष्ट्रिय वित्तिय संस्थाहरुसग हाम्रो राष्ट्रिय हित विपरित हुने गरेको संझौताहरु पनि हाम्रो स्वाधीनता र आन्तरिक क्षमता अभिबृद्धिको बाधक बनेको छ। जसको पछिल्लो उदाहरण MCC को सम्झौताको रुपमा आएको छ।

राजनितिको आडमा हत्याहिंसालाई प्रसय दिने तथा राज्य आतंक फैलाउने काम भइरहेको छ । भ्रष्टाचार र अनियमिततामा स्वतन्त्र छानबिन गर्नृ पर्नेमा उल्टै संरक्षण गर्ने गरिएकोछ। निर्वाचनलाई हिंसा, गुण्डागर्दी, वल प्रयोग, सता र शक्तिको दुरुपयोग गर्दै जनताको उपहास गर्ने अवसरको रुपमा परिणत भएकोछ। बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने, विचार र सिद्धान्तलाई पाखा लगाएर अस्वस्थ गठजोड बनाउने गरिएकोछ। उमेद्वारी लाखौं करोर्डौमा बिक्री हुनेगर्छ, जसले गर्दा निस्पक्ष राजनिति गर्ने ब्याक्ति पछाडी परेर ठेकेदार, ब्यापारीहरु निति निर्माणको क्रममा हावी हुदैछन्।

प्रााकतिक स्रोत साधनमा धनी र सम्पन्न छ हाम्रो देश। अनि इमान्दार र परिश्रमी जनताहरु  बस्ने यस देशमा दृढ इक्ष्याशक्ति र नैतिक बल भएको नेतृत्वको अभाव महशुस भइरहेकोछ। व्यक्ति भन्दा समाज अनि समाज भन्दा राष्ट्र प्रधान मान्ने जनताको श्रम, शीप उद्दमशिलता र नबिनतम सिर्जना शक्तिलाई विकास निमार्णमा प्रयोग गर्न तथा प्राकतिक स्रोतसाधनलाई राष्ट्रिय हितमा उपयोग गरेर विेकासको दिशा निर्धारण गर्नुपर्छ। तब मात्र एउटा सुन्दर, शान्त अनि समृद्ध र सुखी देश बनाउन सकिन्छ ।

नेपाली समाजको परिदृश : १

धार्मिक एवं सांस्कृतिक आवस्था

नेपाल एकमात्र वैदिक, बौद्ध, जैन, किराती, बोन आदि गरी करीब ९५ प्रतिशत नेपालका मौलिक रैथाने सामाजिक र सांस्कृतिक पद्धतिको भौगोलिक, ऐतिहासिक, दर्शनको साझा आधारशिला भएको राष्ट्र हो । “वसुधैव कुटुम्बकम्” को आदर्श सहितको साझा वैदिक मान्यता अनुसारको राष्ट्र नेपाल नै आजको युगानुकूल पद्धतिबाट भू–राजनीतिक–वैधानिकता प्राप्त एउटा निश्चित भौगोलिक सीमाभित्रको राज्य हो । जहाँ विविध प्रजाति, जाति, भाषा, संस्कृति, सम्प्रदाय, समुदाय, जात, भौगोलिक क्षेत्र आदिको समन्वयबाट समष्टिकृत “राष्ट्रियता” निर्धारण भएको छ ।

मानवलाई प्रजाति, जाति, सम्प्रदाय, समुदाय, जात, भौगोलिक क्षेत्र आदि इत्यादि कुनै पनि आधारमा विभाजन नगरी समष्टिमा सारा संसार नै एक समष्टिकृत एकाइ हो भन्ने वैदिक मान्यता भए तापनि अनेक कारणले विश्वमा अनेक राष्ट्रहरू अस्तित्वमा आउने व्यावहारिक यथार्थले गर्दा राष्ट्रियता सिमित धर्म, भाषा, संस्कृतीद्धारा व्याख्या हुदैगइरहेकोछ । जसले साम्प्रदायिकता बढाएर राज्य बिखन्डनको बाटो समात्ने चिन्ता बढेकोछ । संसारभर यसको ज्वलन्त उदाहरणहरु प्रसस्त रहेकाछन् । “राष्ट्र” बन्ने अनेक आधारका बिच निर्णायक आधार भनेको एउटा निश्चित भौगोलिक सीमाबद्ध “राज्य” नै हो भन्ने मान्यतालाई सबल बनाउनु आजको आवश्यकता भएकोछ । 

तर आर्थिक, सामािजक, सांस्कृतिक पहिचानलाई थप विस्तार र विकाश गर्नु पर्नेमा रुढिवादी र कथित सत्ताधारीले जबरजस्ती अंगाल्न बाध्य पारिएको रुपमा गलत ब्याख्या गरी ९५ प्रतिशत बढीको आस्था रहेको वैधिक सनातनी ॐकार परिवारको रुपमा रहेको, विश्वकै मार्गदर्शकको रुपमा रहेको पुर्वीय दर्शनलाई निस्तेज पारी कथित आधुनिक हुने नाममा आफ्नो मौलिकतालाई पश्चिमी सांस्कृतिक अतिक्रमणकारीलाई बेच्ने कार्य भईरहकोछ । राष्ट्रियतालाई सम्प्रदायिकताको साँघुरो घेरबभित्र मात्र ब्याख्या गरी समग्र राष्ट्रको सामािजक, सांस्कृतिक, भौगोलिक एवं सम्प्रदायिक पहिचान सहितको एकतालाई धमिल्याउने चेष्टा भइरहेकोछ ।



उदाहरणको लागि नेपालको लागि पहिलो इसाई मिसन सन् १७१५ मा क्याथोलिक क्यापुचिन फ्रायर (ँचष्बचक) द्वारा स्थापित भयो।  सन् १७६८ / ६९ मा नेपालको एकीकरण भएपछि क्यापुचिनहरूलाई निष्कासन गरियोे। क्रिश्चियन समूहहरूलाई आधिकारिक रूपमा जनताको माग अनुसार २ शताब्दीका लागि देशबाट प्रतिबन्ध लगाइएको थियो। सन् १९५१ (२००७) को क्रान्ति पछि, विदेशी मिसनरीहरूलाई नेपालमा सामाजिक सेवा कार्य गर्न प्रवेश गर्न अनुमति दिइयो भने  सन् १९९० ( २०४६) मा बहुदलीय प्रजातन्त्रको स्थापना र धर्म परिवर्तनमाथिको प्रतिबन्ध खुकुलो भए पछि मात्रै नेपाली चर्चले तीव्र गतिमा विकास गर्न थाल्यो। त्यसमाथी २०७३ (सन् २०१५) मा जारी संबिधानले धर्म निरपेक्क्षता घोषणा गर्दै सांस्कृतिक अतिक्रमणलाई झन बढावा दिएकोछ । यसको प्रत्यक्ष प्रभाव अल्पसंख्यक सांस्कृतिक समुदायलाई परेको छ। यसमा केही हदसम्म राण शाशनको जातिय वर्गिकरणमा आधारित दण्ढकानुन र पञ्चायतकालमा स्थापित एकल सांस्कृतिक राष्ट्रियताको प्रयास पनि दोषि छन्।


नेपालमा सारमा वैदिक सनातन ( हिन्दु पनि भनीने ) को जनघनत्व बढी भए पनि वैदिक, बौद्ध, जैन, किराती, बोन आदि गरी करीब ९७ प्रतिशत नेपालका मौलिक रैथाने सामाजिक र सांस्कृतिक पद्धतिको उद्गम, विकास र विस्तार भएको भुमि हो। जसले गर्दा यहाँ सांस्कृतिक अन्तरघुलन रहेको छ हिन्दू सभ्यताका आयामहरुलाई बौद्धमार्गीहरुले सहर्ष स्वीकार गर्ने तथा बौद्ध, किराँत समुदायका सास्कृतिक सम्पदाहरु, चालचलन र रीतिरिवाजहरुमा हिन्दू समुदाय सहजै घुलमिल हुने परम्परा रहेको छ। बौद्धनाथ, पशुपतिनाथ, किराँतेश्वर महादेव, मुक्तिनाथ जस्ता साझा आस्थाका केन्द्रहरुले गर्दा सांस्कृतिक एकता सम्भव भएको छ ।


तर हालको यो सांस्कृतिक अतिक्रमणको विषम अवस्थामा मेरो सांस्कृतिक सभ्यता ठूलो भन्दै संस्कृतिक मपाइत्व गर्नुभन्दा पुर्बिय दर्शनको साझा उद्गम एबम् उत्तराधिकारीको रुपमा विकास गर्नुपर्दछ। राष्ट्र आफैंमा धर्म निरपेक्ष रहँदैन । कुनै पनि संस्कृति सभ्यताले राष्ट्र सञ्चालनलाई मार्गनिर्देशन गरेको हुन्छ। नेपालको सन्दर्भमा पनि पूर्वीय दर्शनमा आधारित रहेका सांस्कृतिक सम्पदाहरु वैदिक सनातन धर्म, बौद्ध,  किरात, लगायतका सम्प्रदायको साझा मार्गदर्शन र मौलिक परम्पराले नै राज्य सञ्चालन गर्दछ। विद्यमान सांस्कृतिक विचलनको  अन्त्यकालागि र वैशिक जगतमा नेपालको नेतृत्व कायम राख्न पनि आयातित सभ्यताहरुलाई उचित स्थानमा राख्दै नेपालमै उद्गम भयका मौलिक रैथाने सभ्यताको संरक्षण सम्बर्द्धन र विकास गर्दै  गर्नुपर्ने पहिलो प्राथमिकता रहेको छ। 


सम्झनामा सृजनशिल …… १

#जन्म 
छुट्टीमा कुमारवर्तीका मैदानमा टोलका हामीहरू नियमित फुटबल र क्रिकेट खेल्ने, फुटबल भन्दा क्रिकेटको लगाव अझ विचित्रको थियो। नियमित खेल अनि प्रत्येक शनिबार र बिदाको दिन बाजी सहितको टोल टोलका टोली बिच प्रतिस्पर्धा, हारजितको सम्मिश्रण। त्यो भन्दा बढी आनन्द जितेको पैसाले लगानी नगर्नेलाई पनि जुस खुवाउँदै, खाँदै जितको उत्सव मनाउनु र अर्को पटक आफ्नो गृहमैदान ( कुमारवर्ती वा शिव मा. वि. ) मा चुनौती दिनु। एवंरीत चलेको बालसुलभ क्रियाशीलतामा सबैभन्दा गाह्रो कार्य खेलाडीको लहर। कहिले खेलाडी नपुग्ने, कहिले धेरै भएर छनौट गर्न गाह्रो। सबभन्दा चित्त दुखाइ त तब हुन्थ्यो जब आफ्नो साथी विपक्षमा हुन्थ्यो ( कारण विविध छन् )।

सायद सामाजिक हुने, समाजमा परिचित हुने हुटहुटिले होला, सम्भव असम्भव थरि थरिका योजनाले मेरो दिमाग हानिरहन्थ्यो र अाज पर्यन्त हानिरहन्छ। 

खेलमा चलिरहने त्यही असहजतालाई चिर्न एउटा योजनाले जन्म लियो । अनि जन्म भयो जुनियर ब्वाइज स्पोर्ट्स क्लब (JBSC)। १८/२० जनाको केटाहरूको समुहलाई एकत्रित गरियो र थालियो खेलकुदको अर्को यात्रा। तर... सायद अझ अघि बढ्नु रहेछ त्यसैले त जन्मेको केही दिनमै अदृश्य र अनौपचारिक विभाजन भयो, बाँकी रह्यौँ १२/१३ जना केटाहरू। 

मेरो दिमागमा खेलिरह्यो एउटै कुरा कसरी बलियो बनाउने एकता? सानो मान्छे, आफ्नो कुरा राख्न नि डराउने। तर विद्यालयमा स्थापित जु.रे.स., पुस्तकालय व्यवस्थापन समिति लगायत विभिन्न समुहमा रहि काम गरेको अनुभव अनि डराइ डराइ व्यक्त गरेका कुराहरूलाई गुरुहरूले सुनिदिंदा हिम्मत बढ्दै गयो, सोधपुछ गर्दै गएँ अनि जन्म भयो क्लब खोल्ने योजना। युवा क्लबहरू छन् सामाजिक कार्य र खेलकुद दुवैमा सक्रिय, त्यसो हो भने हामी किन नसक्ने?? यो प्रस्ताव पुग्यो सहदेव, अनि शिवको मा। सुरुमा त हाँसोको माध्यम मात्र भयो योजना, सायद म आफैले विस्तृत नबुझेको कुरा बुझाउन सकिन कि? विस्तारै बुझ्दै र बुझाउदै गर्दा साथीहरू नमान्ने त कुरै भएन। म भन्दा दुई कदम सामाजिक जो छन्। 

प्रस्ताव त स्वीकृत भयो तर अघि बढ्ने कसरि ?? सामाजिक तथा बालबालिकाको क्षेत्रमा सक्रिय हिमालयन सामुदायिक विकास मञ्च (HICODEF) अनि त्यस संस्थाका कार्यकारी सुरवीर स्थापित सर। त्यहीँबाट सहयोग लिने निर्णय भयो। सहयोग लिने त कुरा भयो तर सबभन्दा ठूलो समस्या अर्को थियो। को जाने कुरा गर्न? के कुरा गर्ने? कसले र कसरी गर्ने? सायद यही निर्णय लिन पनि हप्ता दिन जति लाग्यो कि? अन्तत निर्णय गरियो कि चारै जना जाने, सहदेव वा शिवले कुरा सुरु गर्ने अनि मैले पुरा गर्ने। 

गइयो हिकोडेफ ..., ३/४ मिनेटमा घरबाट हिकोडेफ पुगेका हामी गेट बाट पहिलो तलामा रहेको सरको कोठामा पुग्न १० मिनेट बढी समय लाग्यो। बल्लबल्ल कुरा सुरु भयो.. कुरा सहज हुदै थियो त्यत्तिकैमा सरबाट एउटा प्रस्न आयो। तिमिहरु कतिजना छौ, सदस्य संख्या कति छ? केटाकेटी कति-कति छौ? हामी त थियौं जम्मा १४/१५ जना केटाहरु, त्यही पनि सबैसँग छलफल नै भएको छैन। मुखामुख गर्दै गर्दा मेरो मुखबाट निस्कियो २२/२५ जना त्यसमा १३/१४ जना केटाहरु अनि ८/१० जना केटीहरु । कुरा गरेर सकियो ...

केहिदिन पछि सबैलाई भेला गरेर क्लब गठन गर्ने योजना सहित बैठक सकियो। काम गर्दै गर्दा समस्याका पहाड थपिदै जान्छ, केटाहरूको क्रिकेट खेल्ने समुह ‌औपचारिक सामाजिक संस्था बन्दै थियो। यो पहाड चढ्न पाउँदा खुसी लागेको थियो तर केटाहरूको ग्याँगमा चुँगि र छोइडुम खेल्न बाहेक बाहिर ननिस्कने केटीहरु, त्यसमाथि ८/१० जना कसरी निकाल्ने? अर्को पहाड अगाडि आयो। तर सोचेजस्तो गाह्रो भएन, सधैं मुखले लखर लखर हिडे भन्दै गालि गरे पनि अभिभावकहरुमा हामी प्रति भरोसा थियो सायद। त्यसैले त उहाँहरुको मौन समर्थनमा सदस्य संख्या १७ पुर्याउन सफल भइयो। अनि जन्म भयो साविकको शिवमन्दिर ३, नवलपरासीमा मा सृजनशिल बाल क्लब।।। 


इति जन्मोत्सव २०६२/०२/२१ रोज ७ शुभम्।।।


Quote of the day

Difficult roads give rise to beautiful destinations.

कठिन सडकहरूको यात्राबाट सुन्दर गन्तव्यमा पुग्न सकिन्छ।
Photograph taken at somewhere Tamghas, Gulmi.
© Photograph taken from Tamghas, Gulmi.




Welcome

Greeting,

Hi, It's me Sunil Lamsal, a Nepalese national. You are welcomed to my personal blog. I am presenting my personal opinions and research findings in various field of society. Hope this effort will help you in some extend. 

Also, you are free to discused with me in relevant topics. 

-Sunil


नमस्ते,

म सुनील लम्सालको तर्फबाट तपाईलाई मेरो व्यक्तिगत ब्लगमा स्वागत छ। म यहाँ आफ्ना व्यक्तिगत साथै समाजका  विभिन्न क्षेत्रमा भए गरेका  विभिन्न अनुसन्धान निष्कर्ष प्रस्तुत गर्नेछु  आशा छ कि यस प्रयासले तपाईंलाई केही न केही मद्दत गर्दछ।

साथै, तपाईं प्रासंगिक शीर्षकहरूमा मसँग छलफल गर्न स्वतन्त्र हुनुहुन्छ।

-सुनिल