वर्तमान र भविष्यः
वर्तमान राजनीतिक अवस्था हेर्दा हरेक राजनीतिक दलहरूमा रहेका वृद्ध र असक्षम नेताहरूको पद प्रतिष्ठा र सत्ता मोहले गर्दा नयाँ जोस जाँगर र विचार बोकेका युवाहरू अवसरबाट वञ्चित छन् । उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न रोक्ने गरिन्छ । यसरी विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनको नेतृत्व गरेकै आधारमा वृद्ध नेताहरूलाई नै नेतृत्व दिँदा विकास र समृद्धिको बाटो साँघुरो बन्दै गएको छ । योग्यता, विज्ञता र क्षमता विहीन सानो स्वार्थ समूहको घेरामा रहेको कार्यपालिका र व्यवस्थापिकाहरूबाट आशातित प्रतिफल पाउन सकिएको छैन । यति सम्मकी न्यायपालिका पनि राजनीतिक भागबन्डाको शिकार भएको छ । जसले गर्दा निष्पक्ष न्याय सम्पादनमा पनि प्रश्नचिह्न लागेको छ ।
गुटगत भागबन्डा ले गर्दा प्राज्ञिक क्षेत्र, विश्वविद्यालय, प्रतिष्ठानहरू जस्ता यावत् क्षेत्रमा असक्षम नेतृत्व हाबी हुने गरेको छ । फलस्वरूप त्यस्ता संस्थानहरू मात्र आफ्ना कार्यकर्तालाई जागिर खुवाउने थलोको रुपमा विकास भएको छ । चुनाव अत्याधिक खर्चिलो हुँदै गएको छ । फलस्वरुप निस्वार्थ र निष्ठावान् राजनीति गर्ने नेताहरू सधैँ पछि पर्ने गर्दछन् भने पैसा र पहुँच हुने व्यापारी, ठेकेदारहरूले टिकट पाउने गर्दछन् । पैसाको खोलो बगाएर चुनाव जितिसकेपछि जनताको उत्थान र विकासमा लाग्नु पर्ने नेतृत्व आफ्नो खर्च उठाउन तल्लीन हुन्छ र भ्रष्टाचार मौलाउँदै गएको छ । यस्तो चरम बेथिति ले गर्दा क्षमतावान युवाहरूमा राजनीति प्रति वितृष्ण उत्पन्न भएको छ । यसले गर्दा योग्यता विहीन असक्षम र व्यक्तिहरूले क्षमतावान व्यक्तिहरूलाई शासन गरिरहेका छन् ।
तसर्थ, अब स्वतन्त्र, निष्ठावान् र विज्ञ युवाबाट राजनीतिको नेतृत्व हुनुपर्छ । आम जनता पनि पैसा र पार्टी भन्दै, आफ्नो मान्छे भन्दै असक्षम मान्छे लाई भोट दिनुअघि सोच्नुपर्ने अवस्था आएको छ । युवा पुस्ताले पनि राजनीतिलाई फोहोरी खेल भन्ने मानसिकताबाट बाहिर निस्किएर सक्षम र सबल नेतृत्व निर्माण गर्न अघि बढ्नुपर्ने देखिन्छ । चाहे स्वतन्त्र नेतृत्व नै किन नहोस् तर अबको समय युवा नेतृत्वको, क्षमतावान र विज्ञ नेतृत्वको, अनि उन्नत, सभ्य र नैतिक समाजको सपना देख्ने नेतृत्वको हो । यस विषयमा थप विमर्श, छलफल सहित साझा निष्कर्ष निकालेर अघि बढ्नुपर्छ ।

إرسال تعليق