अबको बाटो: समाजवाद ??
नेपालको संविधान २०७२ ले नेपाललाई समाजवाद उन्मुख राष्ट्र भनेर व्याख्या गरेको भए पनि यहाँको राजनीतिक, सामाजिक र राष्ट्रिय पुँजीमा नागरिकको अधिकारलाई सीमित समुहको घेराभित्र राख्ने अर्थ व्यवस्थाले सारमा समाजवाद देखाउँदैन। देशको उद्योग, व्यापार र आय व्यवसायहरूका सीमित व्यापारी र विदेशी पुँजीपति समुहको नियन्त्रणमा छ । मध्यम तथा सानो स्तरका पूँजीहरू माथि उठ्न सकेका छैनन्। देशको अर्थतन्त्र झनझन् पराधीन भैरहेको छ ।
समाजवाद भनेको जनताबीचको आपसी समानता र न्यायमा आधारित व्यवस्था हो । त्यसैले गरिब, दुःखी आम श्रमजीवी जनताका जीवनमा परिवर्तन नल्याई विकास निर्माणमा जति धेरै काम गरे पनि समाजवादको आधार तयार हुँदैन । समाजवादमा आमश्रमजीवी जनताको समृद्धिसँगै सिंगो मुलुकको समृद्धि गाँसिएको हुनुपर्छ । त्यसैले समाजवाद उन्मुख लोकतान्त्रिक संघीय गणतन्त्र नेपालमा शिक्षा र स्वास्थ्य कस्तो हुनुपर्छ ? बजार र अर्थव्यवस्थाको शक्तिलाई कस्तो र कुन ठाउँमा राख्ने ? समृद्धिलाई सामाजिक न्यायसँग जोडेर हेर्दै गर्दा खुला अर्थतन्त्र वा नवउदारवाद भनिने गरेका छाडा बजारको नियन्त्रण र व्यवस्थापन कसरी गर्ने ? लोकतान्त्रिक अधिकार सँगै पुँजीवादलाई नियन्त्रण र व्यवस्थापन गरी सामाजिक न्यायमा अटाउने अर्थव्यवस्थाको स्थापना कसरी गर्ने? यस्ता यावत कुराहरूको उत्तर खोजिनु आवश्यक छ ।
कुनै पनि मुलुकको आर्थिक र सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । नेपाली समाज विभिन्न वर्ग, जाति, धर्म, भाषा, संस्कृति र विविध किसिमको भौगोलिक विशेषतामा आधारित छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र यसको एक खुड्किलो मात्र हो । खासगरी, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व, योग्यता अनुसार काम र कामअनुसारको पारिश्रमिक, राजनीतिक स्वतन्त्रता, शोषणको अन्त्य र आर्थिक, सामाजिक, सांस्कृतिक समानताजस्तो विषय समाजवादका आधारभूत तत्व हुन् । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे अहिलेदेखि नै ध्यान पुर्याउनु आवश्यक पर्छ । यस्ता पक्षहरूको विकास र विस्तारका लागी अबको बाटो के हुने, बहस गर्नु पर्ने देखिन्छ ।
केही मुठ्ठीभर व्यक्तिका हातमा मुलुकको साधन-स्रोत केन्द्रित छन् । समाजवादमा सत्तामा पुग्नेहरू मालिकका रुपमा परिवर्तन हुने र आमजनता उनीहरूका कामदारका रुपमा देखा पर्ने स्थिति उत्पन्न नहोस् भन्नेबारे अहिलेदेखि अनुकूल परिस्थिति निर्माण गर्दै अघि बढ्नुपर्छ । समाजवादको बलियो जग निर्माणका लागि सहकारी, सार्वजनिक र निजी गरी मुख्यरूपमा तीनखम्बे अर्थतन्त्रबीचको आपसी सहकार्य र प्रतिस्पर्धाका आधारमा मुलुक आर्थिक विकास र सम्बृद्धिधीको दिशामा अघि बढ्छ । समाजवादको सुरुवात नै अर्थतन्त्रमा सहकारी र सार्वजनिक स्वामित्वको प्रभाव बढाएर र निजी स्वामित्वलाई त्यसको मातहतमा परिचालित हुने अवस्था सिर्जना गरेर मात्र हुन्छ । व्यापकरुपमा साना उद्योगसँगै ठूला उद्योगको विस्तार र उत्पादनमा वृद्धितर्फ राष्ट्रको ध्यान जानु जरुरी छ । अहिलेदेखि नै हरेक कुरामा समूहगत उत्पादन प्रणालीमा जोड दिदै अघि बढ्ने र समाजवादी चरणमा समूहगत स्वामित्व प्रणाली मातहत राष्ट्रिय र निजी स्वामित्व प्रणाली रहने परिस्थिति निर्माण गर्नुपर्ने आवश्यकता छ ।
गरिबी र बेरोजगारी अन्त्य गरेर शिक्षा, स्वास्थ्य लगायत सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले प्रमुख र निर्णायक भूमिका निभाउनु पर्छ । समाजवादी राज्यले प्राकृतिक स्रोतसाधन, शिक्षा, स्वास्थ्य, रक्षा, परराष्ट्र लगायत राष्ट्रियस्तरका विकास निर्माण एवं बृहत् उत्पादनसँग सम्बन्धित काम गर्ने र उसले समूहगत उत्पादन प्रणालीलाई प्रोत्साहित गर्ने भूमिका निर्वाह गर्छ । यसबाट आमजनता नै उत्पादनको मालिक बन्ने परिपाटी स्थापित हुन्छ । समानता र स्वतन्त्रतामा आधारित वैज्ञानिक परिपाटी र बहुदलीय प्रतिष्पर्धामा आधारित लोकतान्त्रिक व्यवस्था यसको मुख्य पक्ष हो ।

إرسال تعليق