संघिय मुलुक नेपालमा ३ तहका सरकार छन्। उनिहरुका आ–आफ्नै आवश्यकता छन्। ति आवश्यकताहरुलाई भूगर्भ भुगोलसंग जोडेर लानुपर्छ। अतः हरेक स्थानीय र प्रदेश सरकारले आफ्नो आवश्यकता पहिचान गरि कार्य गर्नुपर्छ। कम्तिमा आफ्नो क्षेत्रको भौगर्भिक नक्शांकन, प्रकोपको सम्भाव्यता, सम्भाबित खनिज पदार्थहरु र त्यसको अवस्था र जमिनको भुईन्जिनियरिङ्ग गुणहरुको तथ्याँक संकलन गरी सोही अनुरुप निति निर्माण गर्ने र कार्यान्वयनमा लैजानु पर्छ।
न्यूनतम आधारभुत आवश्यकता पुरा गर्नेगरी विकास भएको बाक्लो आवादी सहितको भौगोलिक क्षेत्र नै सहर वा नगर हो। हाम्रो देशलाई ७५३ स्थानीय सरकारको रुपमा विभाजन गरिएको छ। जस अन्तर्गत ६ महानगरपालिका, ११ उप महानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। यी नगरपालिकाहरूमा पनि न्यनतम सहरी आधारभुत आवश्यकताहरूको उपलब्धता कम छ। पहाडी भेगका नगरपालिकाहरूको अवस्था त अझ कमजोर देखिन्छ। तसर्थ यस्ता नगरपालिकाहरू नगरपालिका भन्दा पनि नगरउन्मुख पालिकाहरूको रुपमा रहेका छन्।
सहरी विकासका लागि नगरउन्मुख पालिकाहरूको आवश्यकताहरू पनि धेरै हुन्छन् र त्यस्ता आवश्यक आधारभुत आवश्यकताहरू समेत पूर्ति गर्न यहीँ विद्यमान स्रोतहरूको नै उपयोग गर्नुपर्छ। तर त्यसरी गरिने उपयोगबाट प्रकृति, मानव तथा अन्य भौतिक पूर्वाधारहरूमा प्रतिकुल अवस्था सिर्जना हुन नदिनु अर्का ठुलो चुनौति रहेको छ। सम्पूर्ण गतिविधिहरू यही भूगोल र भूगर्भ भित्रै रहेर गर्नुपर्छ। तसर्थ सहरी दिगो विकासका लागि प्रमुख चुनौतीको रुपमा भौगोलिक एवं भौगर्भिक चुनौती पनि एक मुख्य समस्याको रुपमा रहेको छ।
सहरी दिगो विकासका लागि भौगर्भिक चुनौती
सहरी विकास, विशेषगरी भौतिक विकासका क्रममा हुने वातावरणीय परिवर्तन र दिगो विकासका लागि गरिएका प्रगतिको विश्लेषण गर्नु आजको प्रमुख आवश्यकताको रुपमा रहेको छ। यस बाहेक पनि जमिन र वातावरणीय अवस्थाको विश्लेषण र मूल्यांकनको लागि नवीन पद्धतिको विकास गर्नुपर्ने देखिन्छ। साथसाथै प्रकोप जोखिमको विश्लेषण र मूल्यांकनको लागि नवीन पद्धतिको विकास र सूचना संकलन, प्रशोधन र नतिजा विश्लेषण एवं सूचना प्रवाह गर्ने पद्धतिको विकास बिना सन्तुलित सहरी विकासको परिकल्पना गर्न पनि सकिदैन।
सहर विकासका सामाजिक, सांस्कृतिक संयोजन, आर्थिक परिवर्तन र राजनीतिक परिवेशका अलावा भु–वातावरणीय पक्षका ले पनि निर्देशित गर्दछ भन्ने कुरालाई गौण राखी गरिने विकासले विकास भन्दा बिनासलाई प्रषय दिइराखेको हुन्छ। जनचेतना र शिक्षा प्रवाहको पद्धति र माध्यमको क्षमता अभिवृद्धि तथा सम्बन्धित निकायहरू सँग वातावरणीय तथा भौगर्भिक समस्याहरूको पहिचान र न्यूनिकरणका लागि समन्वयको अभाव नेपालको सन्दर्भमा देखिएको मुख्य चुनौति हो। यस किसिमको समन्वयको अभाव सिर्जना हुनुको मुख्य कारण भनेको भूगर्भको तुलनामा वातावरणीय एवं आर्थिक परिवर्तन र राजनीतिक परिवेशहरूमा मात्र सीमित हुनु नै हो। तसर्थ, योजनागत नगर विकासका लागि उल्लिखित सम्पूर्ण पक्षहरूको नागरिक बिच सकारात्मक समन्वय गरी विकास निर्माण गर्नुपर्छ र यो नै आजको आवश्यकता हो।
के हो त सहरी भूगर्भ ?
शहरी क्षेत्रको भौगर्भिक वातावरणलाई मानवीय एवं प्राकृतिक प्रकृयाहरू सँग एकाकार गरी गरिने दिगो विकास, पुनःउत्पादन र संरक्षणको लागि आवश्यक भौगर्भिक सूचनाहरूको विश्लेषण र प्रायोगिक अध्ययन नै सहरी भूगर्भ हो। जसअन्तर्गत भूगोल, भूगर्भ एवं भौगर्भिक संरचनाहरूको अवस्थित, भौगर्भिक विशेषता द्वारा सिर्जित प्राकृतिक प्रकोपहरू, फोहोरमैला एवं प्रदुषण, पहाड, पहाडी फेद, नदीतट जस्ता भौगोलिक सीमाहरू एवं भु–भौगर्भिक पर्यटन समेत पर्दछ। प्राकृतिक स्रोतहरू जस्तै, नदीजन्य निर्माण सामाग्री, धातु तथा अधातु जन्य खनिज पदार्थ, भूमिगत एवं सतही जल स्रोत, जैविक विविधता युक्त जमिन आदीलाई पनि सहरी भूगर्भ अन्तर्गत राखेर समष्टिगत रुपमा अध्ययन गर्नुपर्ने हुन्छ ।
यस्ता सहरी भौगर्भिक आयामहरूको समुचित प्रयोग, व्यवस्थापन, विकास अनि संरक्षणमा प्राकृतिक एवं मानव सृजित कारकहरुले अवरोध पुर्याई रहेको हुन्छ। जसअन्तर्गत भौगर्भिक एवं भौगोलिक अवरोधहरुको रुपमा सतही एवं भूमिगत भौतिक संरचनाहरुमा कमजोरी, जमिन भासिनु, बाढी, पहिरो तथा भुक्षय, भुकम्प, जमिनको तरलिकरण, बाढी तथा नदीकटान तथा प्राकृतिक विकिरण आदि पर्दछन्। त्यसैगरी मानव सिर्जित अवरोधहरुको रुपमा भु प्रदुषण, मरुभुमिकरण, भूमिगत जल प्रदुषण, सतही जल प्रदुषण एवं फोहोर व्यवस्थापन प्रमुख हुन्।
भु उपयोग योजना
व्यवस्थित सहरी विकासको लागि भु उपयोग योजना अनिवार्य सर्त हो । भु उपयोग योजनाका पनि विविध आयामहरु हुन्छन्। त्यसमध्ये पनि भौगर्भिक एवं भौगोलिक पक्षलाई प्रमुख रुपमा लिइनुपर्छ। भु उपयोग योजना निर्माणको क्रममा सम्बोधन गर्नुपर्ने मुख्य प्रश्नहरु निम्न रहेका छन्।
˗ भौगोलिक बनोटमा कम क्षतिका साथ अधिकतम र वैज्ञानिक प्रयोग कसरी गर्ने ?
˗ भूमिगत एवं सतही जमिनको सम्भावित क्षती न्युनिकरण कसरी गर्ने ?
˗ जैविक विविधताको संरक्षण र विकासको लागि प्राकृतिक तथा आकर्षक भुबनोटको संरक्षण कसरी गर्ने ?
˗ वैज्ञानिक तवरले फोहोरमैला व्यवस्थापन कसरी गर्ने ?
˗ प्राकृतिक स्रोतको दीगो एवं व्यवस्थित प्रयोगको लागि उत्पादन, वितरण प्रणालीलाई कसरी व्यवस्थित गर्ने ?
˗ भूमिगत पुर्वाधार, संरचनाहरूको निर्माण तथा विकासका लागि के गर्ने ?
उल्लिखित प्रश्नहरुको यथोचित जवाफ र सोहि अनूरुपको भु उपयोग योजना बनाई कार्यान्वयन गरियो भने मात्र विकास र विस्तार दीगो हून्छ।
सहरी क्षेत्रको भौगर्भिक एवं भौगोलिक सुचनाहरु र त्यसको प्रयोग
भु उपयोग योजना निर्माण तथा सम्पूर्ण सहरी भूगर्भको दीगो उपयोगको लागि विभिन्न किसिमका भौगर्भिक सुचनाहरुका आवश्यकता पर्छ। मुख्यगरी चट्टानहरुको अवस्थिति र सतही तथा भूमिगत जलस्रोतको अवस्था सम्बन्धि तथ्याँक आवश्यक हुन्छ। त्यस बाहेक पनि विद्यमान जमिनको असन्तुलन एवं जमिनको गुणस्तरमा भइरहेको क्षयिकरणको दर, प्राकृतिक स्रोतहरूको वर्तमान अवस्था एवं उत्खनन् र उपयोगको सम्भावना तथा विभिन्न प्राकृतिक प्रकोपहरु र बर्षाको पानी एवं ढलको निकासको अवस्थागत तथ्याँकहरुको विश्लेषणबाट नै सहरी दीगोविकासको प्रारुप निर्माणमा टेवा पुग्नेछ।
उल्लिखित भौगर्भिक सूचनाहरूको विश्लेषण र प्रायोगिक अध्धयनबाट नै माथिका प्रश्नको समाधान सहितको भु उपयोग योजना निर्माण गर्न सकिन्छ । यसरी निर्माण गरिने योजनाबाट सडक लगायतका अन्य विकास पुर्वाधारको क्षति न्युनिकरण गर्न त मद्यत गर्छ। त्यसका साथसाथै जमिन तरलिकरण हुने, भासिने समस्याहरु, भुक्षय, पहिरो, बाढी जस्ता प्राकृतिक प्रकोपहरुको पहिचानका साथै जोखिम न्यूनिकरणका उपायहरु छनोट र प्रयोगमा समेत सक्षमतामा वृद्धि हुनेछ। प्राकृतिक स्रोतको उचित र उच्चतम उपयोगको खाका निर्माणगरी सोही अनुरुप सम्बन्धित नगर एवं सिंगो राष्ट्रकै आर्थिक, सामाजिक र राजनीतिक ऊपस्थिति बलियो हुनेछ। साथै विभिन्न जनस्वास्थ्य सम्बन्धि प्रकोपहरुको स्रोत पहिचान र निदानको क्रममा पनि यस्ता भौगर्भिक एवं भौगोलिक सुचनाहरु अति आवस्यक पर्दछ।
भौगर्भिक एवं भौगोलिक सुचनाहरु र त्यसको प्रयोगको लागि सम्बन्धित क्षेत्रमा दक्षता भएका विज्ञहरुको विज्ञता आवश्यक हून्छ। भुगर्भविद्ध, भुजलस्रोतविद्ध, खानी तथा खनिज विशेषज्ञ तथा ईन्जिनियरिगं भुगर्भविद्धहरुको समुहिक विश्लेषण र प्रायोगिक अध्ययन प्रमुख रहन्छ। साथसाथै वातावरणविद्ध, जैविक विविधता विज्ञ एवं भौगोलिक सुचना प्रणाली विशेषज्ञहरुको टोलीको सामुहिक प्रयासबाट नै गुणस्तरिय, सहि र सन्तुलित भु सूचना प्राप्त हुन्छ।
अब के गर्ने त?
नेपाल सानो र छोटो दुरी भित्रै समथर तराई मैदान देखि उच्च हिमाली भुभागले ओगटेको राष्ट्र हो। यस्तो विषम भौगभिर्क अवस्था रहेको क्षेत्रमा कार्य गर्न सीमित स्रोतसाधन सहित केन्द्रियस्तरमा जम्मा एउटा निकाय छ, खानी तथा भूगर्भ विभाग। उक्त निकाय पनि भौगर्भिक नक्सांकन र खनिज अन्वेषणमा सीमित छ। यसका बाबजुत पनि आजसम्म सम्पूर्ण राष्ट्रको भौगर्भिक नक्सा तयार हुन सकेको छैन।
संघिय मुलुक नेपालमा ३ तहका सरकार छन्। उनिहरुका आ–आफ्नै आवश्यकता छन्। ति आवश्यकताहरुलाई भूगर्भ भुगोलसंग जोडेर लानुपर्छ। अतः हरेक स्थानीय र प्रदेश सरकारले आफ्नो आवश्यकता पहिचान गरि कार्य गर्नुपर्छ। कम्तिमा आफ्नो क्षेत्रको भौगर्भिक नक्शांकन, प्रकोपको सम्भाव्यता, सम्भाबित खनिज पदार्थहरु र त्यसको अवस्था र जमिनको भुईन्जिनियरिङ्ग गुणहरुको तथ्याँक संकलन गरी सोही अनुरुप निति निर्माण गर्ने र कार्यान्वयनमा लैजानु पर्छ।
यति भएमात्र पनि डोजरको भरमा निर्माण गरिने ग्रामिण सडकहरुको गुणस्तर बढाउन सकिन्छ। साथै अन्य भौतिक पुर्वाधार निर्माणमा पनि सहयोग मिल्नेछ। भुक्षय, पहिरो, बाढी जस्ता प्राकृतिक प्रकोपहरुको पहिचानका साथै जोखिम न्युनिकरण गर्न मद्यत मिल्छ। प्राकृतिक स्रोतहरू (विभिन्न किसिमका खनिज पदार्थहरु, नदिजन्य निर्माण सामाग्रीहरु आदि) को उचित र उच्चतम उपयोगबाट सम्बन्धित क्षेत्रको आर्थिक, सामाजिक अवस्था बलियो बनाउन सकिनेछ। साथै विभिन्न जनस्वास्थ्य सम्बन्धि प्रकोपहरुको स्रोत पहिचान र निदानमा पनि मद्यत मिल्नेछ।
प्रथम प्रकाशन: hamrakura.com

إرسال تعليق